नमस्कार डाक्टर सा’प |
अनलाईनखबरमा तपाइको आत्मकथाको एउटा अंश पढ्न पाएँ | अनि तपाइको गिरफ्तारी पछी “हमारी मांगे” शिर्षकमा तपाईका मागहरु पनि पढें | यि सबै कुराहरुको अध्ययनपछी मलाई पनि केहि लेखौं भन्ने औडाहा जाग्यो र यो दुष्प्रयास गरें | डाक्टर सा’प तपाइको जानकारीका लागि लेख्दैछु, तपाइको गिरफ्तारी भएको रंगेली बजारदेखि लगभग २०/२५ कि. मि पुर्व सिजुवा भन्ने गाउँ बिकास समितिमा मेरो घर पर्छ | जिन्दगी मैले त्यहि माटोमा पाएको हुँ र जिन्दगीका अनमोल २२ बर्ष लगातार मैले त्यहिँ भूमिमा बिताएँ अहिलेपनि बिदामा जाँदा बस्ने त्यहि माटोमा हो | म मधेसमा जन्मिएको मान्छे हुँ | मधेसको गन्हाउने पानि पिएर हुर्केको हुँ | तपाइँ जन्मेको र म जन्मेको भूगोलमा खासै फरक नहोला, अक्षांस र देशान्तरको हिसाब लगाउने हो भने शायद हामि एकै रेखामा जन्मेका र हुर्केका होलाउ | यस अर्थले म आँफुलाई मधेसी हुँ भनेर चिनाउन चाहन्छु | फरक यत्ति हो कि तपाइँ तराई मुलको मधेसी र म पहाड मुलको मधेसी |
तपाइले आत्मकथामा उल्लेख गर्नुभएको उत्पीडन, विभेद र सकसलाई शायदै कसैले नकार्न सक्ला | त्यस्ता उत्पीडन र विभेद नगर्ने शायदै कोहि पहाडी होला र नभोग्ने कोहि मधेसी |मधेसी मात्रै के, म त भन्छु हरेक समुदायले त्यस्तो विभेद भोगेका हुन्छन | फरक यत्ति हो त्यसको रुप र सार फरक हुन्छ | के पहाडी पहाडी बीचको विभेद र उत्पीडन कम दर्दनिय छ र? गरिब भएकोले यो मुलुकमा धेरैले सास्ती भोगेका छन् तपाइले जस्तो | मलाइ लाग्छ यसलाई रंगभेदको लेप लगाउनु भनेको साह्रै दुखलाग्दो कुरा हो किनकि यो वर्गभेद हो | गरिब भएकैले पहाडीले पहाडीलाई हेपेका उदाहरण मैले दिईराख्नु नपर्ला | गरिब भएकैले ब्राह्मणले जनजातिलाई, दलितलाई, क्षेत्रीलाई र यहासम्म कि ब्राह्मण लाइ नै पनि विभेद गरेका छैनन् र? एउटा धनीले अर्को गरिबलाई विभेद नगरेको कुन त्यस्तो गाउँ होला र यो मुलुकमा? विभेद गर्ने सामन्त र शोषकले आफूभन्दा गरिब जति सबैलाई दमन गर्छ, यो सामन्ती प्रवृति हो | यो मधेसीले पहाडीलाई पनि गरेको छ | जनजातिले ब्राह्मणलाइ पनि गरेको छ | तपाइले "हमारी मांगे" भनेर जारि गर्नुभएका मागहरु सरसर्ती हेर्दा तपाइले भोग्नुभएका पीडालाई आफैले ओझेलमा पार्नु भएको छ | हामीले आमा मानेको यो पबित्र भूमिलाई तपाइले जुन तुच्छ गालीहरु दिनु भएको छ त्यो ज्यादै खेदजनक छ | तपाइले परिकल्पना गर्नुभएको अलग मधेसी राज्यमा विभेद हुँदैन भनेर कसरि प्रत्याभूति दिलाउन सक्नु हुन्छ? सम्पूर्ण नेपालीहरुलाई अझ म जस्ता मधेसमा बस्ने मधेसीहरुलाई | अहिलेको मधेसी समाजमा आँफु आँफु भित्र विभेद छैन र ? के अहिले एउटा यादब या झा मधेसीले अर्को डोम या मुसहर मधेसीसंगै बसेर भोजन गर्न सक्छ मधेसमा? के मधेसी दलितहरु स्वतन्त्र रुपले सार्वजनिक स्थानमा आवतजावत गर्न सक्ने बातावरण छ मधेसमा? भोलि गएर अलग राज्य नै स्थापना भयो भने पनि मधेसीहरुले मधेसमा बस्ने म जस्तो पहाडी मुलका मधेसीलाई विभेद गर्दैनन् भनेर कसरि आश्वस्त पार्न सक्नु हुन्छ ? यदि यो स्थिति छैन भने अलग राज्यको माग नै औचित्यहीन छ | म आँफुले भोगेको एउटा घटना यहाँ राख्न चाहन्छु | म शायद ४/५ कक्षामा पढ्दाको कुरो हो | मेरो गाउँ सिजुवा ९, त्रिभुवन चौकमा आफ्नो मावलमा बसेर पढ्दै गरेका एकजना शिवाकोटी थरका मेरा दाजुको उमेरका साथि थिए | हाम्रो गाउँमा आधाजसो राइहरुको बसोबास थियो (अझै पनि छ) | हामि सबैजसो त्यहि कक्षाका र उमेरका साथिहरु एकजना चौहान थरका सरसंग उहाकै निवासमा ट्युशन पढ्ने गर्थियौ | अहिले जस्तै दशैंको समय थियो र सबै राइहरुको घरमा सुँगुर पाकेको थियो | राई मित्रहरु सुँगुर खाएर आउथे, एकदिन हामि अलिक चाडै पुग्यौ तर सर आउनु भएको थिएन तल भान्छामा खाना खाँदै हुनुहुन्थ्यो | राई साथीहरुले सधै जसो ति शिवाकोटी साथीलाई छेडखानी शुरु गरे | ति शिवाकोटी मित्र जन्मदै शाकाहारी थिए र कृष्णप्रणामी धर्म मान्ने परिवारमा जन्मिएका थिए अतः उनले घांटीमा तुलसीको माला अर्थात कन्ठी लगाउँथे | साथीहरुले कन्ठी तानेर चुड्न खोजे शिवाकोटी मित्र रुन थाले तर पनि राई मित्रहरुले छोडेनन् | अनि अन्तमा एकजना अलि ठुलो मोटे साथीले मैले भर्खर सुँगुर खाएर आएको भन्दै दाँतले टोकेर उसको तुलसी मालाको तुलसिदाना फुटाइदिए | दुइचार दाना फुटाएपछि सर आउन लागेको थाह पाएर उसलाई सरलाई भनिस भने कुट्छु भनेर धम्क्याए | भोलि पल्ट देखी दशैँ तिहारको बिदा शुरु भयो तर बिदा पछी पनि त्यो साथि ट्युशन आउन छाड्यो | म शारीरिक रुपले सानो भएकोले न मैले त्यस घटनाको बिरोध र न त समर्थनै गर्न सकें | यो एउटा उदाहरण हो बहुसंख्यकले अल्पसंख्यकलाइ गर्ने विभेदको |
डाक्टर सा’प, अर्को एउटा मेरै भोगाई यहाँ राख्न अनुमति चाहन्छु | म ९/१० बर्षको हुँदो हुँ | घर पछाडी सिसौबारिमा खेल्दै गर्दा एक्कासि मेरो गुप्तांग सुन्नियो, दाजुले मलाइ समातेर हतार हतार घर पुर्याउदासम्म पानीले भरिएको प्लाष्टिकको झोलाजस्तो जिलजिल भईसकेको थियो | मम्मीले आत्तिदै बुबालाई बोलाउनु भयो, बुबा खेतमा काम गर्दागर्दै आत्तिएर आउनुभयो | धेरै कुरा त सम्झना छैन तर बुबाले "बुढी बाख्रो बेचेको पैसा निकाल" भनेर ममीलाई अह्राउनु भयो, अघिल्लो दिनमात्रै चारसयमा बाख्रो मियाले लागेको थियो | त्यहि पैसा बोकेर दिउँसो तीनबजे तिर बुबाले मलाइ साइकलको अगाडी डन्डीमा तौलिया ओच्छ्याएर लग्नु भयो | त्यतिबेला त्यो एरियामा कि गौरिगंज (झापा) कि रंगेलीमा जान्ने डाक्टर थिए | म उघ्दै कतिखेर रंगेली पुगें थाहा छैन, के के उपचार भयो केहि याद छैन | तर फर्किदा झपक्कै साँझ पर्न थालेको थियो रंगेली बजार काटेर पुर्व लाग्ने बित्तिकै बुबाले लगाइराखेको ढाकाको टोपी फुकालेर खल्तीमा हाल्नुभयो | खाना खाँदा र सुत्दा बाहेक टोपी नखोल्ने बुबाले टोपी खोलेको देखेर म अचम्मित भएँ | मेरो गुप्तांग पूर्ववत भैसकेको थियो अनि दुखाई पनि कम भईसकेको थियो र मैले उत्सुकताबस् बुबालाई सोधें | बुबाले भन्नुभयो "यता टोपी लगाउँदा यहाका मान्छेले मन पराउदैनन कुटपिट गर्छन" | गाउँमा बलियो र आँटिलो भनेर चिनिने मेरो बुबाको डर पहिलो पल्ट त्यहि बेला देखें | डाक्टर सा’प, तपाइले देशको प्रमुखको हातबाट डिग्री पाउनलाई दौरा सुरुवाल लगाउनु परेछ त्यो पनि राष्ट्रिय कार्यक्रममा | तपाईलाई ग्लानि र शरम धेरै भयो होला म मान्छु तर मेरो बुबा जस्ता धेरैले आफ्नो गाउँ नजिकै यसरि टोपी खोल्नुपर्छ दैनिक दिनचर्यामा, त्यो पनि आफ्नो अबुझ छोराको अगाडी | तपाईलाई भन्दा बढी ग्लानि मेरो बुबालाई भयो होला | डाक्टर सा’प, रंगेली भन्दा पुर्व अर्को बजार आउँछ डायनिया, त्यहाँ मुसलमानहरुको अत्याधिक बसोबास छ | साँझपख एक्लै हिड्नेले आफ्नो टुप्पी जोगाउन उस्तै गाह्रो हुन्छ, ठ्याक्कै त्यस्तै जसरि ति मुसलमानहरु हाम्रो गाउँतिर बुढी बाख्री र बुढी भैसी किन्न आउँदा भोग्छन | छालाको लागि बुढा चौपाया सस्तोमा किन्न आउने ति मुसलमान दाजुभाइहरु अति नै दलाल गर्ने प्रकृतिका हुन्छन | जस्तो १,००० रुपैया पर्ने चौपायालाई २०० देखि दलाल गर्न शुरु गर्छन र आँफुलाई बेच्नु नपर्नेको पनि बित्थैमा यति र उति दिन्छु भनेर लोभ्याउछन | कुनै दिन घरमा अभिभावक नभएको दिन छ भने केटाकेटीलाई पनि फकाएर सस्तोमा लैजान खोज्छन | यस्तो बेला हामीसँग एउटा रेडिमेड उपाय हुने गर्थ्यो बाक्लो किराँतीहरुको बस्ति भएको हाम्रो गाउँमा सुँगुरका छाउरा प्रशस्तै पाईने अनि "त्यो सुँगुर पाठा ल्याएर आउँ" भनेपछि मात्रै तिनीहरु भाग्ने गर्दथे |
डाक्टर सा’प, देश बनाउन खोज्ने हो भने धेरै बाटाहरु छन् र बिगार्न खोज्ने हो भने एउटा मात्रै, देश टुक्र्याउने | तपाइले नासा छाडेर आउनु भएको भन्ने सुनेको छु | यदि हो भने खुसि लाग्यो, तपाइँ देशको गौरव हो | आउनुस मिलेर देश बनाउँ, दाईजोको निहुँमा सालिन्दा सैयौ चेलीले ज्यान गुमाउने गरेका छन् मधेसमा, यस बिरुद्द लागौं | मधेसकै विभेद अन्त्य गरौँ, आउनुस मिलेर जनचेतना जगाउँ कि सानो र ठुलो जात हुँदैन भनेर | खुला दिसाको कारण कति मधेसी बालबालिका बिमार परेका छन्, आउनुस चर्पीमा मात्रै दिसापिसाब गरौँ भनेर सम्झाउ | पिउने पानीको समस्या छ मधेसमा, ट्युवेलमा आर्सनिकयुक्त पानी आउँछ आउनुस पानीलाई सुद्दिकरण गरेर मात्रै पिउन सिकाउँ | मैथिली, भोजपुरी र अवध अनि अरु मधेसमा बोलिने भाषामा बिद्यालय खोल्न सरकारलाई दबाव दिउँ, आउनुस सबै अभिभावकलाई छोरा र छोरी समान हुन भनेर महिला अधिकारको प्रत्याभूति दिलाउँ | राष्ट्रिय स्तरमा मधेसी महिलाको उपस्थिति ज्यादै न्युन छ, आउनुस महिला सशक्तिकरण अभियानमा संगसंगै लागौं | अनि माग्नुपरे माग्नुहोस अलग राज्य म पनि तपाइलाई साथ दिनेछु | तपाइको पछी लाखौंको समर्थन हुनेछ र बाध्य हुनेछ सरकार | नेपाल आमासँग घर सल्लाह गरेरै छुट्टीउला न कि गालि र सराप गरेर | हामि राम्रो र गतिलो भएर मागौं न कि अरुलाई नराम्रो देखाएर | अनि मात्रै तपाइको मधेसप्रतिको सद्भाव देशले बुझ्नेछ | जान्नेछ, तपाइको मधेसप्रेम नत्र यथास्थितिमा मधेसको माग गर्नु भनेको झन् खाडलमा फस्नु हो | नत्र सिधाबाटो आउनुस जनमत जित्नुस र देशको कार्यकारी हुनुस अनि झापड दिनुस तपाईलाई "धोति" भन्नेहरुलाई | यौटा जनकपुरको भैसी गोठालोको छोरो सुई हान्ने डाक्टर देशको राष्ट्रपति भएको देशमा कोशी किनारमा हुर्केको नासाको बैज्ञानिक प्रधानमन्त्री बन्न नसक्ने केहि कारण छैनन् |
तपाइले क्याम्पसमा पाउनु भएको सास्तीको बारेमा उल्लेख गर्नु भएको रहेछ, पढेर मेरो पनि हृदय भतभती पोल्यो | डेरा नपाएर भौतारिनु भएको घटनाले पनि छोयो | राजधानीले मधेसीलाई मात्रै होईन डाक्टर सा’प, पहाडीलाई पनि उत्तिकै विभेद गर्छ | चप्पल लगाएर कठ्याङ्ग्रिने जाडोमा क्याम्पस जानुपर्दाको पिडा पनि उत्तिकै दुखद छ | मैले त राजधानीका कुनै क्याम्पसमा पढ्ने सौभाग्य पाईन तर बिराटनगरको महेन्द्र मोरङ क्याम्पस गएको छु, नियमित बिद्यार्थी नभए पनि | त्यहाका बिद्यार्थीसँग संगत गरेको छु | क्याम्पसमा नयाँ बिध्यार्थिलाई ज्यादती गरिनु नौलो कुरा होईन जस्तो लाग्छ र यो पनि हो कि तपाइँ मधेसी भएकोले अलिक बढी भोग्नु भयो होला | उहिले म नजन्मिदै झापा आन्दोलनमा लागेका कम्युनिष्टहरु रातारात गाउँबाट लखेटिएनेपालपाटीमा हेर्नुहोस.... रे | झापा छोडेर भूमिगत भएका असंख्य झापालीहरू राजधानीमा पुगे र डेरा बस्न थाले | त्यसै क्रममा कति भूमिगत बसेकाहरुसंग भाडा तिर्ने पैसा नभएर डेरा छोडेर भाग्दै अर्को ठाउँमा बस्न गए त कति अनेक बहानाबाजी गरेर अटेरी गर्दै त्यहि बसिराखे | अनि कतिलाई सुराकीको आधारमा डेराबाटै गिरफ्तार गरियो | तर पछी जब पन्चे सरकारलाई यो कुरा थाह भयो उसले उर्दी जारि गर्यो कि जो कोहिले आफ्नो घरमा झापालीलाई बहालमा या अन्य कुनै तरिकाले राखेको पाइएमा कडाभन्दा कडा कारवाही गरिनेछ | त्यसपछि झापाली भन्नासाथ कसैले डेरा नदिने गर्न थाले त्यति मात्रै होइन् झापाली भाडा नतिर्ने फटाहा र चोर हुन्छन, प्रहरीले घरबाटै पक्राउ गर्छन भन्ने बुझाइ रह्यो जुन आजसम्म पनि कायम छ यद्यपी अहिले राजधानीमा बाहिरका मध्ये सबैभन्दा बढी घर झापालिहरुकै छन् |
आँफु मधेसी भएकोले हीनताबोध गर्नुभएका जस्ता लाग्ने धेरै कुराहरु लेख्नु भएको छ तपाइले उक्त आत्मकथामा | तर मधेसी राष्ट्रपति, उप राष्ट्रपति र उप सभामुख भएको देशको सामान्य नागरिक भएकोले मलाइ त मधेसी प्रति अगाध श्रध्दा छ | तर तपाइले त्यो घमण्ड कतै उल्लेखित गर्नु भएनछ दुख लाग्यो | देशको राष्ट्रपतिले त्यहि मधेसबाट आएर संघर्ष गरेर आज यो पद जित्नु भएको हो कसैले दानमा या उपहारमा दिएको हैन | त्यहि मधेसबाट आएर दुख र संघर्ष गरेर आँफुलाई राष्ट्रको इज्जतिलो स्थानमा पुर्याउने अरुपनि धेरै व्यक्तित्वहरु हुनुहुन्छ, उहाहरुलाई हेरेर पनि अलिकति सिक्नुपर्ने हो तपाइले | अब हिजोको जस्तो जमाना रहेन | बरु छिटोभन्दा छिटो देशलाई संघियतामा लैजान दबाव दिउँ | अनि मधेसमै अन्तर्राष्ट्रिय विमानस्थल चाडै सुचारु गरौँ | आउनुस प्राबिधिक बिश्वबिद्यालयहरु मधेसमै स्थापना गर्न जोडदार माग गरौ | सरकारी स्तरबाट नभए सामुदायिक तवरबाट अघि बढौं | हामीसँग अबको भोलिमा केन्द्रिकृत राज्यसत्ता कायम रहनेछैन | अन्तर्राष्ट्रिय विमानस्थल र बिश्वबिधालयहरु मधेसमै भएपछी हामीलाई राजधानी जानुपर्ने खास कामै पर्दैन | देशका अत्याधिक उद्योग धन्दाहरु मधेसमै छन् हामिलाई रोजगारी मधेसमै मिल्छ | उच्च शिक्षा पनि मधेसमै मिल्न थालेपछि हामिलाई गरिने विभेदको पनि स्वाभाविक अन्त्य हुनेछ | देश र मधेसले मुक्ति पाउन लागेको यो स्वर्णिम घडीमा तपाइको त्यस्तो अभिव्यक्ति आउनु अतिनै लज्जास्पद र निराशाजनक कुरा हो | त्यसैले आउनुस डाक्टर सा'प फुटेर हैन जोडेर देश बनाउँ | यो समयको माग यहि हो | हामिलाई तपाइँजस्तो होनहार युवाको खाँचो छ | मिलेर अघि बढौं | दुनियालाई त्यो उखान भन्ने मौका नदिउँ जुन पहाडी समाजमा चर्चित छ | "काट्ने बेलामा सुँगुरले गुहु खायो..... |" जय रामजी कि !!
तपाइको शुभ चिन्तक
-सागर बस्नेत
सिजुवा ९, मोरङ
No comments:
Post a Comment