घरेलु हिंसा
एकजना दुइजना गर्दै एकैछिनमा आँगन भरियो, मान्छेहरुको ताँतीले | आफ्नाहरू पनि आए पराइहरू झन् धेरै आए, जो जो आए मलाइ कर्के नजरले हेर्दै विनितालाई सहानुभूति दिनेहरु नै आए | अधिकारबादी, स्कुलका माष्टर, गाउँका नेता, बुढापाका, बिभिन्न समूह र संस्थाका मान्छे, आमा समुह सबैखाले आए | मलाई भन्नु नभन्नु भन्नेहरु आए, कोहि बाँधेर घाँस हाल्ने भन्छन | कोहि गुहु-मुत खुवाउनुपर्ने भन्छन | हुतिहारा र नामर्दको उपाधि यस्तरी दिए कि यो संसारमा सर्वेसर्वा उनीहरु नै हुन | पुरा गाउँ म बिरुद्द खनिएको देख्दा अचम्म लाग्यो | हिजो बेलुकी पनि कार्किदाईको भट्टीमा मेरोलागि जे पनि गर्छु भन्ने अधिकारि कान्छो यस्तरी बोल्दै थियो कि मैले उसको सर्वस्व हरण गरेको छु | हुनत यि सबैलाई मैले राम्रैसँग चिनेको छु | मलाइ गुहु-मुत खुवाउन तम्सिने निरौलाको भिमेले अस्तिमात्रै हो, अंशको निहुँमा बुढो भएको बाउलाई अस्पताल लैजानेगरी कुटेको | थानाको असईसँग खुब उठबस भएर मात्रै केहि भएन | हुनत ति निरौला बाजे बिचरा सत्तरी काटेका तिनीसँग के त्यस्तो खास थियो र तिनको पक्षमा कोहि बोलिदियोस | बाँधेर घाँस हालिदिउ भन्ने अधिकारि कान्छो पनि पोहोरको साल विदेशिएको आफ्नै दशदिने दाजुकी स्वास्नीसँग रंगेहात समातिएको हो | ति भाउजुकी आँखा धमिलो देख्ने सासु बाहेक कोहि थिएनन घरमा | लोग्ने पनि भर्खरै परदेश लागेका ऋण उतार्न पाएको भए फर्किन्थे होला तर मसिना दुधे लालाबालाको मायाले कागज गरेर छाडिएको हो | त्यो घटना लगत्तै कान्छाले यहाका कि जान्नेसुन्ने भनाउँदालाई एकमहिनासम्म ढुक्कै दारुपानी गरेको पनि कसैको आँखाबाट छिपेको थिएन | तर पनि मलाइ पटक्कै पश्चाताप छैन | हो म पुरै संसारको अगाडी भन्न सक्छु कि मैले मेरी स्वास्नीलाई हिजो राति निर्घात कुटेको हुँ | म मान्छु रक्सीले मातेको थिएँ तर मातेको जोशमा होईन पुरा होसोहवासमा कुटेको हुँ |
• • • • • • • •
म सानैदेखि बेग्लै खाले मान्छे थिएँ | मेरा बालापनका कोहि साथि छैनन् | म एक्लै हिड्थे, एक्लै खेल्थें | पढाइमा मलाइ खास रुची थिएन | म धेरैजसो स्कुलबाट भागेर हिड्थे | चार कक्षासम्म कसरि पुगें उतिसाह्रो याद छैन | तर त्यसपछिको एकएक घटना याद छ | पढाइमा गतिलो नभएकोले चार कक्षामा म फेल भएँ | मेरी बहिनीले मलाइ भेट्टाई, ऊ धेरै तीक्ष्ण दिमाग भएकी थिइ | त्यसपछि घरमा संधै मलाइ सिकाउने जिम्मा उसैको भयो | हुनत हाम्रो घरमा सबै पढन्ते छन् | दाजु बाह्र कक्षासम्म कहिल्यै दोश्रो भएन, भाइ एसएलसीमा जिल्लाभरिकै उत्कृष्ट भयो | दिदीको पनि राम्रो थियो, बहिनी त झन् जान्ने थिई | अहिले दाजु मालपोतको अधिकृत छ, दिदी पहाडमा पढाउछिन, बहिनी अंचल अस्पतालमा नर्स छे र भाइ पढ्न विदेश गएको उतै बसेको छ | म मात्रै हुँ बेकामे, बेकामे मात्रै होईन मेरो बुबाको नाकको कालो दाग हुँ म | दाजु र भाइलाई म देखि शरम लाग्छ मलाइ आफ्नै सहोदर भन्न पनि हिच्किचाउछन | दिदीसँग त राम्रै थियो मगर जेठाको छोरासँग सुनबर्सी मेलामा हात समाउदै डुंगामा चढेको कुरा घरमा भनिदिएपछि मलाइ पटक्कै मन पराइनन | मलाइ त्यो जीवने मगर पटक्कै मन पर्दैनथियो | सानैमा स्कुल बाहिर ल्याउने बरफ खोसेर खान्थ्यो, बिचरा त्यो बरफवाला भैया काबु भएको थियो माग्दा दिएन भने जीवनहरुले खोसेर खाइदिन्थे अझ पैसा पनि चोरेर लगिदिन्थे | सरहरुलाई भन्दापनि केहि गर्दैनथे | उल्टो हामीले तलाई बेच्न लगाएको हो भन्थे | जति उमेर बढ्दै गयो जीवन उतिनै बिग्रिदै गएको थियो | झन् पछी बसमा कन्डक्टर काम गर्न थालेदेखि त बेलुकै पिच्छे मातेर हिड्थ्यो | खोइ दिदीले के देखेर मन पराएकी थिइ | सबैले मलाइ हेला गरेपनि ममीले धेरै माया गर्नुहुन्थ्यो | केहि मिठो खानेबेलामा बुबा त्यो घोसेलाई दिनुपर्दैन भन्नुहुन्थ्यो | तर भाँडा माझिसकेपछी बहिनी र ममीले अरुलाई दिए भन्दा धेरै लुकाएर खुवाउनु हुन्थ्यो | ममीको यो स्नेह र बहिनीको प्रेम पाएर म पुलकित हुन्थें | लाग्थ्यो यस्तै माया पाउनलाइ अझै अटेरी बनौं, अझ घोसे बनौं |
मैले व्याकरण कहिल्यै बुझिन, नाम-सर्वनाम, क्रिया-विशेषण कहिल्यै आएन | मैले ज्यामिती बुझिन, बिज गणित बुझिन | रसायन बिज्ञान बुझिन, साँच्चै भन्दा मैले स्कुलमा पढाएको केहि बुझिन | अरु सबैले बुझेको कुरा नबुझेपछि म गोज्यांग्रे भएँ, अक्कड़ो र लठुवा भएँ | सरले सोध्दा आएन कति भन्नु बिस्तारै म बोल्नै छाडें अनि स्कुल र घरमा घुँसघुँसे र घोप्टे भएँ | मलाइ रमाइलो अन्तै थियो, सरले व्याकरण पढ़ाउदा म झ्यालबाट देखिने ट्युवेल हेरिरहन्थे | नाम सर्वनामको व्यख्या गर्दा कसरि पानि निस्केको होला भनेर गमिरहेको हुन्थें | ट्युवेलका जिब्रि, वासर, ह्यान्डल कसले बनायो होला भनेर उद्देलित हुन्थे | घरमा ल्याइएका भित्तेघडी, रेडियो सबै खोलेर हेर्थें म | फेरी फिट गर्दा कति चल्थे कति चल्दैनथे | अलिअलि बनाउन जान्ने भएपछि त घडीको पिन हाल्न देखि एफएम रेडियोको बेन्ड खुस्केको लगाउन पनि लिएर आउंथे छिमेकीहरु | सकेको जानेको गरेर पठाईदिन्थें | म नौ कक्षामा फेल भएँ | बुबा रिसले आगो हुनुभयो, मलाइ कुट्न खोज्दा रोक्ने हुँदा ममीले पनि बेस्मारी गालि खानु भयो | मलाइ धेरै नराम्रो लाग्यो, त्यो रातभरी म रोएँ | हेडसरको छोरा फेल भयो अब मेरो के इज्जत रहला भनेर खुब सानो मन गर्नुभयो बुबाले पनि | मलाइ ग्लानि महसुस भयो, सरहरुले अनि अरु अरुले पनि भन्थें तँलाई कसरि दिलसरको छोरा भन्नु ? तेरा दाजुभाइ दिदी बहिनी सबै यति जान्ने छन्, त्यहि घरको तँ यस्तो भनेर सधैं मेरो गिल्ला गर्थे | बहिनीले पनि जितेर गइ, मलाइ कत्ति दुख लागेन मेरो बहिनीले धेरै पढोस राम्रो गरोस भन्ने नै लाग्थ्यो सधैं | त्यसपछि कति कति दिन म भोकभोकै हिड्थे, घरमा ममीले खान त दिनुहुन्थ्यो तर त्यसबापत ममीले गालि खानु पर्थ्यो | बुबाले यसलाई कसैले खान नदिनु भन्नु भएको थियो | म भोकै छु भनेर छर छिमेकीलाई पनि थाह हुन्थ्यो, एकजना राई काकीले मलाइ धेरै खुवाउनुभयो | म घरमा पनि मागेर खान्नथिएँ, पकाएर राखेको पनि अरुले नदिए पस्केर खादिनथिएँ | ममी भन्नुहुन्थ्यो मागेर खाने गर्नुपर्छ, आफ्नो घरमा निकालेर खानुपर्छ | तर मलाइ माग्न मुख लाग्दैनथियो, निकाल्न हात लाग्दैनथियो | मेरो दुख कठै भन्ने धेरै छिमेकी थिए, माइलो छोरा भएर वास्ता नभएको भनेर मलाइ सोडा लगाउथे | तर मलाइ कहिल्यै बुबासंग गुनासो लागेन, मलाइ घरका कसैसँग पनि रिसीइवी थिएन | मेरो कारणले बहिनी र ममीले गालि खाँदा धेरै नराम्रो लाग्थ्यो | मसँग खर्च नहुँदा बहिनीका पेवा खसी बेचेका र भुमेपाथिका पैसा दिन्थी, उसले कपडा किन्दा सधैं मलाइ पनि ल्याइदिन्थि | म जहाँ जाँदापनि बहिनी र ममीलाई धेरै सम्झिन्थे, मेरो र बुबाको कहिल्यै राम्रो सम्बन्ध भएन |
मलाइ पढ्न बसेपछि ज्यादै दिक्दार लाग्थ्यो, हाइ आउंथ्यो | अक्षरहरु हिड्थे, चित्रहरु बोल्थे, ज्यामितिका कोणहरुले घोच्थे | अंग्रेजी किताबमा भएका चित्रहरु अंग्रेजी नै बोल्थे म बुझ्दिनथिए | ज्यामितिका कोण जान्नुभन्दा कन्दंगवा सरको डस्टर खानु सजिलो लाग्थ्यो मलाइ | रसायन शास्त्रका फर्मुला सम्झिनुभन्दा पुण्य सरको छडी सहज थियो मलाइ | फेरी अर्को सालको ठुलो परिक्षा आइसकेको थियो | अब सरहरुले पनि फेरी फेल भईस भने भाइले भेट्छ भनेर डर देखाउथे | साथिहरु पनि हात धोएरै जिस्काउथे | मलाइ जाँच दिन मन लागेन | एकदिन गोठधुपको दिन थियो बुबाहरु सबै जानुभएको थियो बहिनी र म थियौ घरमा भाइ साथीकोमा पढ्न गएको थियो | मैले बहिनीलाई तीनसय रुपैया मागें, बहिनीले किन भनेर सोधी मलाइ काम परेको छ दे न भनेर रुनै खोजें | बिचरा भर्खर १५ बर्ष लागेकी थिई खै के सोची अनि ल्याएर दिई | म एकैछिनमा आउंछु भनेर हिडें, बुबाहरु भन्दा अघि आइज है नत्र मलाइ मार्नु हुन्छ बुबाले भनि | चोकमा निस्केँ, मलाई के गरौँ के गरौँ भएको थियो घर छाड्ने निश्चय गरिसकेको थिएँ | उर्लाबारी जाने बस आयो म चुपचाप चढें | उर्लाबारी पुगेपछि छक्क परें केहि सोच्नै सकिनँ | साँझ पर्न लागेको थियो, एउटा होटेलमा मालपुवा खाँदै बसेको थिएँ | एउटा पन्जाबी ट्रक आएर रोकियो, उसले त्यहाँ खाना खायो | म अघिदेखि उसैलाई हेरेर बसिराखेको थिएँ उसले पनि मलाइ नियाल्दैथियो | धेरै बेर हेरेको देखेर सोध्यो, के हो भाइ घर कहाँ हो ? मैले आत्तिएर भने मलाई गाडी बनाउन सिक्न मन छ, एउटा ग्यारेजमा लगिदिनोस | छक्क परेर फेरी सोध्यो घर कहाँ हो? मैले भनें मेरो घर छैन | बिरगंजमा साथीको ग्यारेज छ जान्छौ? मैले टाउको हल्लाएँ | धेरै कुराकानी पछी भोलिपल्ट हामि पुग्यौ बिरगंज | बाटोभरि मैले उसलाई ढांटे, उसले मजत्रै छोरा भएको, घर धनकुटा र लिम्बू थर भएको बतायो | उसैले भनेर मलाइ दुइछाक खाना सहित बस्ने ठाउँ दिने शर्तमा त्यहाँ सिक्ने मौका मिल्यो |
एकरात सपनामा रुँदैरुँदै काँडाघारीमा हिड्दैगर्नु भएको ममीलाई देखें | आधारातमै ब्युझिए, कस्तो नरमाइलो लाग्यो | यत्रो दिनसम्म के के बित्यो होला कति रुनुभयो होला जस्तो लाग्यो | अनि बहिनीलाई पनि सम्झें उसलाई झुठ बोलेर आएकोमा पछुतो लाग्यो | सम्झिन त सधैं सम्झिन्थे ममी र बहिनीलाई तर आज मन आत्तियो | जुरुक्क उठें घर गैहालूं जस्तो लाग्यो | यो डेढ बर्षमा मैले केहि खबर पनि पठाएको थिईन | एकबर्षदेखि मलाइ तलब पनि दिन थालेको थियो | तलब पाउने बेला पनि भैसकेको थियो तर किन किन यसपाली तलबको माया लागेन | मैले तलब केही खर्च नगरी राखेको थिएँ पैसा भएको झोला बोकें र बाहिर निस्किएँ | निस्पट्ट अध्यारो थियो | परपर कुकुर भुकेको सुनिन्थ्यो | मलाई यो मध्यरात हो भन्ने पनि याद भएन | बेस्मारी जाडो थियो, हिडेको हिड्यै चोकमा निस्किएँ र घडी हेरें तिन बजेको रहेछ | काठमाडौं जाने डे गाडी भेटिने सम्भावना थियो | डे बस चढेर पथलैयासम्म पुगें, काठमाडौंबाट आउने नाईट बस भेट्ने आशा थिएन | तर मेरो सुभदिन जाममा फँसेको गाडी भेटें, कतिखेर निदाएँ कुन्नि ब्युझिदा म इटहरीमा थिएँ | बेग्लै खुसि थियो मनमा, हतार पनि उत्तिकै लागेको थियो | घरमा पुग्दा मध्येदिन भएको थियो र ममिमात्रै हुनुहुन्थ्यो | शुरुमा गालि गर्नुभयो अनि रुनुभयो मलाइ छेउमा राखेर सुम्सुम्याउनु भयो | म पनि ममी संगै रोएँ | म फेल हुन्छु र भाइसँग पढ्नुपर्छ अनि फेरी बुबाले कराउनुहुन्छ भनेर ममीले बुझ्नुभएको रहेछ |
बुबाले मैले सोचेजति गालि गर्नुभएन, धेरै गल्नुभएछ | दाजुले बरु हप्कायो र फेरी पढ भन्यो | मैले बुबालाई ग्यारेजको सबै काम सिकेको छु एउटा ग्यारेज खोलौं भनेर बिन्ति गरें तर बुबाले मलाइ बिश्वास गर्नुभएन | भन्नुभयो, नजानेको काममा हात नहालेकै राम्रो | मलाइ बेकार बस्न पनि मन लागेन र फर्केर जान पनि | कान्छाकाकाको ट्याक्टर थियो, काकालाई भनेर त्यहि चलाउन थालें | बुबा र काकाको राम्रै सम्बन्ध थियो, मन खुसि नभएपनि बुबाले मलाई केहि भन्न सक्नुभएन | घरको खाएर, घरमै बसेर पनि मैले राम्रै पैसा कमाउन थालें, बिचबिचमा लेवरको काम पनि गर्दा अनि बाटोमा कसैका सानातिना सामान ओसारिदिदा पनि पैसै आउंथ्यो र त्यो साहुजीलाई बुझाउनु पर्दैनथियो | यतिकै एकबर्ष बित्यो बहिनीले पनि प्लस टु सकेर बिराटनगरमा स्टाफ नर्स पढ्न थालिसकेकी थिइ र दाजुभाउजुसँग बिराटनगरमै बस्थि | दिदी पनि बिहे गरेर तरहरा पुगिसकेकी थिई | एकाएक मेरो बिहेको कुरो चल्यो | छिमेकी गाउँबाट हाम्रो नजिकैको स्कुलमा पढ्न आउने बिनितासंग | झट्ट हेर्दा खास राम्री नभएपनि पढाइमा जेहेन्दार थिई, छात्रवृति पाएर प्लस टु पढेकी मेरो बहिनी सँगै | पढ्ने रहर हुँदाहुँदै घरको स्थिति खास राम्रो नभएर बिहे गर्न बाध्य थिइ उसको बिहेमा एउटा शर्त थियो बिहेपछी पढ्न पाउनुपर्ने | बुबालाई पनि छोराले नपढेपनि पढ्ने बुहारी पाउदा राहत मिलेको थियो | म केहि बोल्न सकिनँ, बहिनीले भनेपछि नाइँ भन्न मन लागेन र बिहे भयो |
बिहेको केहिदिन देखिनै मलाइ काममा जान दिईन विनिताले, बुबासँग सल्लाह गरेर आफ्नै ट्याक्टर किनौं भनि | मसँग कुरा नजम्ने भएर उसैले कुरा गरि र बुबाले पनि अलिकति खेत राखेर कृषि बिकास बैंकदेखि ट्याक्टर लिन सहमत हुनुभयो | पढेकी, बोलाइली, फरासिली भएकोले सबैको मनमा बसेकी थिइ बिनिता | म पनि आफ्नै गाडी चलाउन पाएर मक्ख | बिनिता अब पहिलाको जस्तो रहिन, ममीसँग मनमुटाव भईराख्थ्यो | साथि भएपनि बहिनीसँग पनि सम्बन्ध चिंसिदै गयो, मेरो मन दुख्ला भनेर कैलेकाही आउने बिचरा बहिनी पनि सहिदिन्थी | दिनभरी म घरमा नहुने भएर खास मलाइ थाह पनि हुदैनथियो | खाना खाएर म निदाईहाल्थे | तर बुबाले प्रसस्तै उचाल्नु भएको थियो र बुबाको आड पाएर भुइँ न भाँडामा भएकी थिइ | दिनभरिको गाडीको थर्काई अनि धपेडीले बिस्तारै मलाई गलाउदै लग्यो बिस्तारै म रक्सीको अम्मली बन्दै जान थालें | हुँदाहुँदा नखाइकन भोलिपल्ट उठ्न नसक्ने हुनथालें | चिसांग खोलाको बालुवा र माथि केराबारी छेउ पुगेर ढुंगा ल्याउनु पनि उत्तिकै गाह्रो काम थियो, फेरी ट्याक्टरको सिट |
विनिताले स्नातक राम्रैसंग सिध्याई यतिबेला सम्म हाम्रो एउटा छोरी र अर्को बच्चा पेटमा थियो | धनकुटामा एम एडको लागि भर्ना भएर घरै बसेर ऊ पढ्न लागेकी थिइ | छोरो जन्मेर एकबर्षको भएपछी गाउँकै स्कुलमा बुबाले भनसुन गरेर राहतमा पढाउन पनि थालेकी थिइ | उसलाई जागिर दिलाएबापत संचालक समितिको अध्यक्षको खेतमा आफ्नै डिजल हालेर पचास घण्टा लेवलिंग गरिदिनु पर्यो मैले | तर मेरी विनिता दिनदिनै फेरिदै जान थालि, महिला अधिकार, बचत समूह, बुहारी समाज र अरु के के संस्थाको प्रतिनिधि हुँदै तालिम र गोष्ठीमा दगुर्न थालि | ममीलाई नातिनातिना स्याहार्न हम्मेहम्मे पर्न थालेको मैले महसुस गरेको थिएँ | एकदुई पल्ट बिनितालाई सम्झाउन पनि खोजें तर सामिजिक उत्तरदायित्व, महिला अधिकार र के के भन्दै अब चुल्होचौको गरेर बस्न नसक्ने बताउन थालेकी थिइ | एकाएक शाकाहारी भई, आध्यात्मिक र धार्मिक दर्शनका कुरा गरेर मलाई पनि माछामासु नखाने सल्लाह दिनथाली | उसका थाल बटुका छुट्टिए | हाम्रो बिछ्यौना अलग्गिए | मैले कमाएर ल्याएको राखनधरण सबै उसैले गर्थी | एकदिन दाजु आयो र अंशबण्डाको कुरा निकाल्यो | बुबाले सजिलै तँ तेरो भाग लिएर जा अब कान्छो पनि आउँदैन होला हामि माइलो र विनितासँग बस्छौं भन्नुभयो | विनिताले कुरा भुईमा झर्न नपाउदै म कसैलाई पाल्न सक्दिनँ भनि | मैले कत्ति सम्झाउन खोजें तर मेरो केहि सुनिन | बुबाले पनि फकाउनु भयो तर ऊ डेग चलिन | आखिरमा मैले त्यत्रो मिहेनत गरेको सबै पानीमा गयो | ट्याक्टर किनेको भन्दा बढी दाम घाटामा गयो | मैले यो चारबर्षमा धेरै काम गरेको थिएँ, हिसाब सबै उसैले राखेकी थिइ तर हिसाबले नोक्सान देखायो | घरमा चलाउँदै गरेका भाँडाकुँडा भाउजु र विनिताले होडबाजी गरेर छाने | मैले जिन्दगीमा धेरै दुखहरु भुक्तान गरेको छु तर त्यो अंशबण्डाको दृश्यजति नराम्रो मलाइ केहि लागेन | हामि बच्चैदेखि त्यहि घरमा काम गर्ने पसिना बगाउनेलाई केहि वास्ता हुँदैन तर चारदिन अघि आउनेले कस्तरी घरका सामान छानीछानी लैजान्छन | छोरीलाई अन्माएर लोग्नेको घर पठाउदा डाको छोडेर रोएको देखेको थिएँ तर बुबाममीसँग छुट्टेको दिन मलाइ पनि कहालिदै रुन मन लाग्यो | छोराहरुलाई घरखेत, धान चामल र भाँडाकुँडा भाग लगाएर दिने बुबाममिको साँझमा खाना पकाउने भाँडासमेत रहेन | ममीले दुईजनाको लागि दशजनालाई पुग्ने ठुलो भाँडामा भात पकाएको देखेर मेरो मन अमिलियो | छोरामान्छेको लागि त्यो जस्तो दुखद समय अरु शायदै हुन्छ होला | ऋण तिर्नलाई मेरो मुटुको टुक्रा ट्याक्टर पनि बेचिने भयो | त्यो दिन त म नराम्ररी लुटिएँ | तोकिएको दाम तिर्ने क्षमता मसँग थिएन |
केहिदिन बुबाघरमै बसेर हामीले घर बनायौ, ऋण तिर्नलाई अलिकति सगोलको जग्गा बेचेका थियौं र बाँचेको पैसा सबैलाई भाग लगाईएको थियो | त्यहि पैसाले घर बनायौं, नपुगेको पैसा विनिताले माइतबाट ल्याई | घर तैयार भएपछी दिदीले, ममीले दिएको भन्दै धेरै सामान ल्याई विनिताले | पछी थाह भयो सगोलको पैसा लुकाएर कतै घडेरी पनि जोडेकी रैछे | विनितासँग मेरो सम्बन्ध बिग्रियो, उसले बिस्तारै मलाइ घरमा पस्न पनि दिन छाडी | माछामासु, जाँडरक्सि खानेलाई घरमा पस्न नदिने भन्थी | छोराछोरीलाइ उही प्यारी थिई, मसँग केहि हुँदैनथियो सबै किनिदिने उही | अफिसको काम भन्दै दुईतिन दिनसम्म हराउन थालि | स्याहार्न भ्याईएन भनेर छोराछोरी पनि माइतमा पुर्याई | पहिले सगोलमा हुँदा बुबाको आड पाएर मलाइ गन्नै छाडेकी थिइ | मलाइ विदेश पठाउन धेरै कोसिस गरि तर मैले फेरी काकाकै ट्याक्टर चलाउन थालें | ऊ स्कुलकी मिस भएर सबैले उसकै कुरा सुन्न थालेका थिए | म पहिलेदेखि नै बोल्न नसक्ने, चित्त दुख्दा एकान्तमा एक्लै रुन्थें | एकदिन खोइ के को सम्मेलनमा गएकी तिन दिनपछि आइ | मलाइ अलिक चित्त दुखेको थियो | आएपछि मैले उसलाई हप्कीदप्की गर्न खोजें, लोग्ने हुनको हक र दम्भ देखाएँ | उल्टो अबदेखि घरमा नपस्नु, मैले माइतीको पैसा ल्याएर बनाएको घर हो यो कसैको हली जड्याहालाइ बस्न बनाइदिएको होईन भनि | ममीले पनि नजिकैको घरबाट सुन्नुभएछ र ममी पनि आउनुभयो र सम्झाउन लाग्नु भयो र रोईकराई गरेर गुहार मागी | छेउछाउका छिमेकि आए र भोलि भेला बस्ने भनेर गए |
भोलिपल्ट भेलामा आमा समूह, महिलावादीहरुले उसको धर्मकर्ममा खलल पुर्याएको, बुहारीलाई कजाउन खोजेको आरोप लगायो ममी र मलाइ | यो घरमा बस्ने भए जाँडरक्सि नखानुपर्ने फैसला गरे | त्यहादेखी म ममीसँगै मुलघरमा बस्न थालें | अंशमा पाएको थोरै जमिन बाहेक केहि थिएन मेरो | कहिलेकाही छोराछोरी भेट्न जान्थें | एकदिन बिहानै ढुंगा ओसार्न चुरे गएको थिएँ फिर्न अलिक ढिलो भयो र गाडी घरमै राखेर भोलिमात्रै लैजाने बिचार गरेर घरमै पसें | मुलघरको आँगनबाट मेरो घर मजैले देखिन्थ्यो, मैले गाडी आँगनमा ल्याउदा ल्याउदै मेरो आँगनबाट दुईटा बाइक निस्किए | अझै मान्छे बोल्दै गरेको सुनिन्थ्यो | के रहेछ को रहेछ भनेर चाबी थुतेर सिधै मेरो घरतिर सोझिएँ | मुलघरको आँगन काट्दाकाट्दै अर्को पनि बाईक रोडमा उक्लियो र दक्षिण बतासियो | बाहिर बिनिता उभिएकी थिइ, मलाई रोक्नलाई हातमा समातेर तान्दै थिई म नरोकीई सरासर भित्र टिभी कोठामा पसें | त्यहाको बातावरण देखेर मेरो जिउमा काँडा उम्रिए, मैले सबै अन्धकार देखें | सयओटा फुस्रे कमिलाले टोकेजस्तो भयो | त्यहाँ खसीको सेकुवा, कुखुराको साप्रा र वियरको बोतल छरपष्ट थिए | मेरो शरीर काँप्यो, आवेशमा सोधें के हो यो ? उसले नडराई जवाफ दिई, शिक्षा सेवा आयोग पास भएर यहि स्कुलमा स्थायी भएँ अनि सरहरुलाई पार्टी ...... | मैले सबै सुन्नै सकिन, आजसम्म जानेर झिङ्गो पनि नमारेको मलाइ आज आफ्नै स्वास्नी मार्न मन लाग्यो | विनिताको चुल्ठो समातें र भित्तामा झुण्ड्याएको पेटी झिकें अनि बर्साउन थालें | ममीले थाह पाएर आउनुभयो मलाइ छुट्याउनु भयो तैपनि बीचबिचमा ममीको पकड खुस्काउदै लात्ताले भकुरें |
महिलावादीहरुको दबावमा असईले पक्राउ गरि जिल्लामा ल्याएको छ र अहिले खोरमा थुनिराखेको छ | म माथिको घरेलु हिंसाको मुद्दा लागेको छ, मलाइ कत्तिपनि बिस्मात छैन मेरो कर्मप्रति कानुन अनुसारको सजायँ स्वीकार छ |
======समाप्त ======
Wednesday, October 8, 2014
Wednesday, October 1, 2014
डाक्टर सा’पलाई खुला पत्र
नमस्कार डाक्टर सा’प |
अनलाईनखबरमा तपाइको आत्मकथाको एउटा अंश पढ्न पाएँ | अनि तपाइको गिरफ्तारी पछी “हमारी मांगे” शिर्षकमा तपाईका मागहरु पनि पढें | यि सबै कुराहरुको अध्ययनपछी मलाई पनि केहि लेखौं भन्ने औडाहा जाग्यो र यो दुष्प्रयास गरें | डाक्टर सा’प तपाइको जानकारीका लागि लेख्दैछु, तपाइको गिरफ्तारी भएको रंगेली बजारदेखि लगभग २०/२५ कि. मि पुर्व सिजुवा भन्ने गाउँ बिकास समितिमा मेरो घर पर्छ | जिन्दगी मैले त्यहि माटोमा पाएको हुँ र जिन्दगीका अनमोल २२ बर्ष लगातार मैले त्यहिँ भूमिमा बिताएँ अहिलेपनि बिदामा जाँदा बस्ने त्यहि माटोमा हो | म मधेसमा जन्मिएको मान्छे हुँ | मधेसको गन्हाउने पानि पिएर हुर्केको हुँ | तपाइँ जन्मेको र म जन्मेको भूगोलमा खासै फरक नहोला, अक्षांस र देशान्तरको हिसाब लगाउने हो भने शायद हामि एकै रेखामा जन्मेका र हुर्केका होलाउ | यस अर्थले म आँफुलाई मधेसी हुँ भनेर चिनाउन चाहन्छु | फरक यत्ति हो कि तपाइँ तराई मुलको मधेसी र म पहाड मुलको मधेसी |
तपाइले आत्मकथामा उल्लेख गर्नुभएको उत्पीडन, विभेद र सकसलाई शायदै कसैले नकार्न सक्ला | त्यस्ता उत्पीडन र विभेद नगर्ने शायदै कोहि पहाडी होला र नभोग्ने कोहि मधेसी |मधेसी मात्रै के, म त भन्छु हरेक समुदायले त्यस्तो विभेद भोगेका हुन्छन | फरक यत्ति हो त्यसको रुप र सार फरक हुन्छ | के पहाडी पहाडी बीचको विभेद र उत्पीडन कम दर्दनिय छ र? गरिब भएकोले यो मुलुकमा धेरैले सास्ती भोगेका छन् तपाइले जस्तो | मलाइ लाग्छ यसलाई रंगभेदको लेप लगाउनु भनेको साह्रै दुखलाग्दो कुरा हो किनकि यो वर्गभेद हो | गरिब भएकैले पहाडीले पहाडीलाई हेपेका उदाहरण मैले दिईराख्नु नपर्ला | गरिब भएकैले ब्राह्मणले जनजातिलाई, दलितलाई, क्षेत्रीलाई र यहासम्म कि ब्राह्मण लाइ नै पनि विभेद गरेका छैनन् र? एउटा धनीले अर्को गरिबलाई विभेद नगरेको कुन त्यस्तो गाउँ होला र यो मुलुकमा? विभेद गर्ने सामन्त र शोषकले आफूभन्दा गरिब जति सबैलाई दमन गर्छ, यो सामन्ती प्रवृति हो | यो मधेसीले पहाडीलाई पनि गरेको छ | जनजातिले ब्राह्मणलाइ पनि गरेको छ | तपाइले "हमारी मांगे" भनेर जारि गर्नुभएका मागहरु सरसर्ती हेर्दा तपाइले भोग्नुभएका पीडालाई आफैले ओझेलमा पार्नु भएको छ | हामीले आमा मानेको यो पबित्र भूमिलाई तपाइले जुन तुच्छ गालीहरु दिनु भएको छ त्यो ज्यादै खेदजनक छ | तपाइले परिकल्पना गर्नुभएको अलग मधेसी राज्यमा विभेद हुँदैन भनेर कसरि प्रत्याभूति दिलाउन सक्नु हुन्छ? सम्पूर्ण नेपालीहरुलाई अझ म जस्ता मधेसमा बस्ने मधेसीहरुलाई | अहिलेको मधेसी समाजमा आँफु आँफु भित्र विभेद छैन र ? के अहिले एउटा यादब या झा मधेसीले अर्को डोम या मुसहर मधेसीसंगै बसेर भोजन गर्न सक्छ मधेसमा? के मधेसी दलितहरु स्वतन्त्र रुपले सार्वजनिक स्थानमा आवतजावत गर्न सक्ने बातावरण छ मधेसमा? भोलि गएर अलग राज्य नै स्थापना भयो भने पनि मधेसीहरुले मधेसमा बस्ने म जस्तो पहाडी मुलका मधेसीलाई विभेद गर्दैनन् भनेर कसरि आश्वस्त पार्न सक्नु हुन्छ ? यदि यो स्थिति छैन भने अलग राज्यको माग नै औचित्यहीन छ | म आँफुले भोगेको एउटा घटना यहाँ राख्न चाहन्छु | म शायद ४/५ कक्षामा पढ्दाको कुरो हो | मेरो गाउँ सिजुवा ९, त्रिभुवन चौकमा आफ्नो मावलमा बसेर पढ्दै गरेका एकजना शिवाकोटी थरका मेरा दाजुको उमेरका साथि थिए | हाम्रो गाउँमा आधाजसो राइहरुको बसोबास थियो (अझै पनि छ) | हामि सबैजसो त्यहि कक्षाका र उमेरका साथिहरु एकजना चौहान थरका सरसंग उहाकै निवासमा ट्युशन पढ्ने गर्थियौ | अहिले जस्तै दशैंको समय थियो र सबै राइहरुको घरमा सुँगुर पाकेको थियो | राई मित्रहरु सुँगुर खाएर आउथे, एकदिन हामि अलिक चाडै पुग्यौ तर सर आउनु भएको थिएन तल भान्छामा खाना खाँदै हुनुहुन्थ्यो | राई साथीहरुले सधै जसो ति शिवाकोटी साथीलाई छेडखानी शुरु गरे | ति शिवाकोटी मित्र जन्मदै शाकाहारी थिए र कृष्णप्रणामी धर्म मान्ने परिवारमा जन्मिएका थिए अतः उनले घांटीमा तुलसीको माला अर्थात कन्ठी लगाउँथे | साथीहरुले कन्ठी तानेर चुड्न खोजे शिवाकोटी मित्र रुन थाले तर पनि राई मित्रहरुले छोडेनन् | अनि अन्तमा एकजना अलि ठुलो मोटे साथीले मैले भर्खर सुँगुर खाएर आएको भन्दै दाँतले टोकेर उसको तुलसी मालाको तुलसिदाना फुटाइदिए | दुइचार दाना फुटाएपछि सर आउन लागेको थाह पाएर उसलाई सरलाई भनिस भने कुट्छु भनेर धम्क्याए | भोलि पल्ट देखी दशैँ तिहारको बिदा शुरु भयो तर बिदा पछी पनि त्यो साथि ट्युशन आउन छाड्यो | म शारीरिक रुपले सानो भएकोले न मैले त्यस घटनाको बिरोध र न त समर्थनै गर्न सकें | यो एउटा उदाहरण हो बहुसंख्यकले अल्पसंख्यकलाइ गर्ने विभेदको |
डाक्टर सा’प, अर्को एउटा मेरै भोगाई यहाँ राख्न अनुमति चाहन्छु | म ९/१० बर्षको हुँदो हुँ | घर पछाडी सिसौबारिमा खेल्दै गर्दा एक्कासि मेरो गुप्तांग सुन्नियो, दाजुले मलाइ समातेर हतार हतार घर पुर्याउदासम्म पानीले भरिएको प्लाष्टिकको झोलाजस्तो जिलजिल भईसकेको थियो | मम्मीले आत्तिदै बुबालाई बोलाउनु भयो, बुबा खेतमा काम गर्दागर्दै आत्तिएर आउनुभयो | धेरै कुरा त सम्झना छैन तर बुबाले "बुढी बाख्रो बेचेको पैसा निकाल" भनेर ममीलाई अह्राउनु भयो, अघिल्लो दिनमात्रै चारसयमा बाख्रो मियाले लागेको थियो | त्यहि पैसा बोकेर दिउँसो तीनबजे तिर बुबाले मलाइ साइकलको अगाडी डन्डीमा तौलिया ओच्छ्याएर लग्नु भयो | त्यतिबेला त्यो एरियामा कि गौरिगंज (झापा) कि रंगेलीमा जान्ने डाक्टर थिए | म उघ्दै कतिखेर रंगेली पुगें थाहा छैन, के के उपचार भयो केहि याद छैन | तर फर्किदा झपक्कै साँझ पर्न थालेको थियो रंगेली बजार काटेर पुर्व लाग्ने बित्तिकै बुबाले लगाइराखेको ढाकाको टोपी फुकालेर खल्तीमा हाल्नुभयो | खाना खाँदा र सुत्दा बाहेक टोपी नखोल्ने बुबाले टोपी खोलेको देखेर म अचम्मित भएँ | मेरो गुप्तांग पूर्ववत भैसकेको थियो अनि दुखाई पनि कम भईसकेको थियो र मैले उत्सुकताबस् बुबालाई सोधें | बुबाले भन्नुभयो "यता टोपी लगाउँदा यहाका मान्छेले मन पराउदैनन कुटपिट गर्छन" | गाउँमा बलियो र आँटिलो भनेर चिनिने मेरो बुबाको डर पहिलो पल्ट त्यहि बेला देखें | डाक्टर सा’प, तपाइले देशको प्रमुखको हातबाट डिग्री पाउनलाई दौरा सुरुवाल लगाउनु परेछ त्यो पनि राष्ट्रिय कार्यक्रममा | तपाईलाई ग्लानि र शरम धेरै भयो होला म मान्छु तर मेरो बुबा जस्ता धेरैले आफ्नो गाउँ नजिकै यसरि टोपी खोल्नुपर्छ दैनिक दिनचर्यामा, त्यो पनि आफ्नो अबुझ छोराको अगाडी | तपाईलाई भन्दा बढी ग्लानि मेरो बुबालाई भयो होला | डाक्टर सा’प, रंगेली भन्दा पुर्व अर्को बजार आउँछ डायनिया, त्यहाँ मुसलमानहरुको अत्याधिक बसोबास छ | साँझपख एक्लै हिड्नेले आफ्नो टुप्पी जोगाउन उस्तै गाह्रो हुन्छ, ठ्याक्कै त्यस्तै जसरि ति मुसलमानहरु हाम्रो गाउँतिर बुढी बाख्री र बुढी भैसी किन्न आउँदा भोग्छन | छालाको लागि बुढा चौपाया सस्तोमा किन्न आउने ति मुसलमान दाजुभाइहरु अति नै दलाल गर्ने प्रकृतिका हुन्छन | जस्तो १,००० रुपैया पर्ने चौपायालाई २०० देखि दलाल गर्न शुरु गर्छन र आँफुलाई बेच्नु नपर्नेको पनि बित्थैमा यति र उति दिन्छु भनेर लोभ्याउछन | कुनै दिन घरमा अभिभावक नभएको दिन छ भने केटाकेटीलाई पनि फकाएर सस्तोमा लैजान खोज्छन | यस्तो बेला हामीसँग एउटा रेडिमेड उपाय हुने गर्थ्यो बाक्लो किराँतीहरुको बस्ति भएको हाम्रो गाउँमा सुँगुरका छाउरा प्रशस्तै पाईने अनि "त्यो सुँगुर पाठा ल्याएर आउँ" भनेपछि मात्रै तिनीहरु भाग्ने गर्दथे |
डाक्टर सा’प, देश बनाउन खोज्ने हो भने धेरै बाटाहरु छन् र बिगार्न खोज्ने हो भने एउटा मात्रै, देश टुक्र्याउने | तपाइले नासा छाडेर आउनु भएको भन्ने सुनेको छु | यदि हो भने खुसि लाग्यो, तपाइँ देशको गौरव हो | आउनुस मिलेर देश बनाउँ, दाईजोको निहुँमा सालिन्दा सैयौ चेलीले ज्यान गुमाउने गरेका छन् मधेसमा, यस बिरुद्द लागौं | मधेसकै विभेद अन्त्य गरौँ, आउनुस मिलेर जनचेतना जगाउँ कि सानो र ठुलो जात हुँदैन भनेर | खुला दिसाको कारण कति मधेसी बालबालिका बिमार परेका छन्, आउनुस चर्पीमा मात्रै दिसापिसाब गरौँ भनेर सम्झाउ | पिउने पानीको समस्या छ मधेसमा, ट्युवेलमा आर्सनिकयुक्त पानी आउँछ आउनुस पानीलाई सुद्दिकरण गरेर मात्रै पिउन सिकाउँ | मैथिली, भोजपुरी र अवध अनि अरु मधेसमा बोलिने भाषामा बिद्यालय खोल्न सरकारलाई दबाव दिउँ, आउनुस सबै अभिभावकलाई छोरा र छोरी समान हुन भनेर महिला अधिकारको प्रत्याभूति दिलाउँ | राष्ट्रिय स्तरमा मधेसी महिलाको उपस्थिति ज्यादै न्युन छ, आउनुस महिला सशक्तिकरण अभियानमा संगसंगै लागौं | अनि माग्नुपरे माग्नुहोस अलग राज्य म पनि तपाइलाई साथ दिनेछु | तपाइको पछी लाखौंको समर्थन हुनेछ र बाध्य हुनेछ सरकार | नेपाल आमासँग घर सल्लाह गरेरै छुट्टीउला न कि गालि र सराप गरेर | हामि राम्रो र गतिलो भएर मागौं न कि अरुलाई नराम्रो देखाएर | अनि मात्रै तपाइको मधेसप्रतिको सद्भाव देशले बुझ्नेछ | जान्नेछ, तपाइको मधेसप्रेम नत्र यथास्थितिमा मधेसको माग गर्नु भनेको झन् खाडलमा फस्नु हो | नत्र सिधाबाटो आउनुस जनमत जित्नुस र देशको कार्यकारी हुनुस अनि झापड दिनुस तपाईलाई "धोति" भन्नेहरुलाई | यौटा जनकपुरको भैसी गोठालोको छोरो सुई हान्ने डाक्टर देशको राष्ट्रपति भएको देशमा कोशी किनारमा हुर्केको नासाको बैज्ञानिक प्रधानमन्त्री बन्न नसक्ने केहि कारण छैनन् |
तपाइले क्याम्पसमा पाउनु भएको सास्तीको बारेमा उल्लेख गर्नु भएको रहेछ, पढेर मेरो पनि हृदय भतभती पोल्यो | डेरा नपाएर भौतारिनु भएको घटनाले पनि छोयो | राजधानीले मधेसीलाई मात्रै होईन डाक्टर सा’प, पहाडीलाई पनि उत्तिकै विभेद गर्छ | चप्पल लगाएर कठ्याङ्ग्रिने जाडोमा क्याम्पस जानुपर्दाको पिडा पनि उत्तिकै दुखद छ | मैले त राजधानीका कुनै क्याम्पसमा पढ्ने सौभाग्य पाईन तर बिराटनगरको महेन्द्र मोरङ क्याम्पस गएको छु, नियमित बिद्यार्थी नभए पनि | त्यहाका बिद्यार्थीसँग संगत गरेको छु | क्याम्पसमा नयाँ बिध्यार्थिलाई ज्यादती गरिनु नौलो कुरा होईन जस्तो लाग्छ र यो पनि हो कि तपाइँ मधेसी भएकोले अलिक बढी भोग्नु भयो होला | उहिले म नजन्मिदै झापा आन्दोलनमा लागेका कम्युनिष्टहरु रातारात गाउँबाट लखेटिएनेपालपाटीमा हेर्नुहोस.... रे | झापा छोडेर भूमिगत भएका असंख्य झापालीहरू राजधानीमा पुगे र डेरा बस्न थाले | त्यसै क्रममा कति भूमिगत बसेकाहरुसंग भाडा तिर्ने पैसा नभएर डेरा छोडेर भाग्दै अर्को ठाउँमा बस्न गए त कति अनेक बहानाबाजी गरेर अटेरी गर्दै त्यहि बसिराखे | अनि कतिलाई सुराकीको आधारमा डेराबाटै गिरफ्तार गरियो | तर पछी जब पन्चे सरकारलाई यो कुरा थाह भयो उसले उर्दी जारि गर्यो कि जो कोहिले आफ्नो घरमा झापालीलाई बहालमा या अन्य कुनै तरिकाले राखेको पाइएमा कडाभन्दा कडा कारवाही गरिनेछ | त्यसपछि झापाली भन्नासाथ कसैले डेरा नदिने गर्न थाले त्यति मात्रै होइन् झापाली भाडा नतिर्ने फटाहा र चोर हुन्छन, प्रहरीले घरबाटै पक्राउ गर्छन भन्ने बुझाइ रह्यो जुन आजसम्म पनि कायम छ यद्यपी अहिले राजधानीमा बाहिरका मध्ये सबैभन्दा बढी घर झापालिहरुकै छन् |
आँफु मधेसी भएकोले हीनताबोध गर्नुभएका जस्ता लाग्ने धेरै कुराहरु लेख्नु भएको छ तपाइले उक्त आत्मकथामा | तर मधेसी राष्ट्रपति, उप राष्ट्रपति र उप सभामुख भएको देशको सामान्य नागरिक भएकोले मलाइ त मधेसी प्रति अगाध श्रध्दा छ | तर तपाइले त्यो घमण्ड कतै उल्लेखित गर्नु भएनछ दुख लाग्यो | देशको राष्ट्रपतिले त्यहि मधेसबाट आएर संघर्ष गरेर आज यो पद जित्नु भएको हो कसैले दानमा या उपहारमा दिएको हैन | त्यहि मधेसबाट आएर दुख र संघर्ष गरेर आँफुलाई राष्ट्रको इज्जतिलो स्थानमा पुर्याउने अरुपनि धेरै व्यक्तित्वहरु हुनुहुन्छ, उहाहरुलाई हेरेर पनि अलिकति सिक्नुपर्ने हो तपाइले | अब हिजोको जस्तो जमाना रहेन | बरु छिटोभन्दा छिटो देशलाई संघियतामा लैजान दबाव दिउँ | अनि मधेसमै अन्तर्राष्ट्रिय विमानस्थल चाडै सुचारु गरौँ | आउनुस प्राबिधिक बिश्वबिद्यालयहरु मधेसमै स्थापना गर्न जोडदार माग गरौ | सरकारी स्तरबाट नभए सामुदायिक तवरबाट अघि बढौं | हामीसँग अबको भोलिमा केन्द्रिकृत राज्यसत्ता कायम रहनेछैन | अन्तर्राष्ट्रिय विमानस्थल र बिश्वबिधालयहरु मधेसमै भएपछी हामीलाई राजधानी जानुपर्ने खास कामै पर्दैन | देशका अत्याधिक उद्योग धन्दाहरु मधेसमै छन् हामिलाई रोजगारी मधेसमै मिल्छ | उच्च शिक्षा पनि मधेसमै मिल्न थालेपछि हामिलाई गरिने विभेदको पनि स्वाभाविक अन्त्य हुनेछ | देश र मधेसले मुक्ति पाउन लागेको यो स्वर्णिम घडीमा तपाइको त्यस्तो अभिव्यक्ति आउनु अतिनै लज्जास्पद र निराशाजनक कुरा हो | त्यसैले आउनुस डाक्टर सा'प फुटेर हैन जोडेर देश बनाउँ | यो समयको माग यहि हो | हामिलाई तपाइँजस्तो होनहार युवाको खाँचो छ | मिलेर अघि बढौं | दुनियालाई त्यो उखान भन्ने मौका नदिउँ जुन पहाडी समाजमा चर्चित छ | "काट्ने बेलामा सुँगुरले गुहु खायो..... |" जय रामजी कि !!
तपाइको शुभ चिन्तक
-सागर बस्नेत
सिजुवा ९, मोरङ
जातीय पहिचानका कुरा
श्री सौंठा उच्च मा. बि मा म ६ कि ७ मा पढ्दाको कुरा, हामिलाई बिज्ञान पढाउन नयाँ सर आउनु भयो, उहाको नाम थियो शुरेश बिश्वास | कस्तो नबुझिने कुराहरु भन्दै हामिलाई पढाउनु भयो हामीमध्ये कति त के भनेको नबुझेर अलमल पर्यौ | नेपाली त नेपाली नै बोल्नुहुन्थ्यो तर अर्कै लवजमा | पढाउदै जाँदा “चिन लगाउ” भन्नु भयो नबुझेर ट्वा पर्यौ हामि | “हामीले भन्यो चिन लगाउ, किन मानिलिदैन” भन्दै कड्किन थाल्नुभयो | हैरान भएर “मार्क करिलिनु” भनेपछि थाहा भयो चिन्ह लगाउ भन्नु भएको रहेछ | बिस्तारै बातावरण सहज भयो | त्यस्तै म कतारमा हुँदा हाम्रो एकजना साथि थियो अकलेश्वर मण्डल, जनकपुरको | हामि गाउँमा हुँदा मधेसको मान्छेलाई “भेले” र भैया भन्थ्यौ | धेरैजसो मधेसीहरुले व्यापारिक र हिडडुल गर्न प्रयोग गर्ने भएकोले ठुलो हिरो जेट साईकलको नामै भैया साइकल थियो | पछी कतार पसेपछि थाह भयो धोति पनि भन्दा रहेछन हामीले काम गर्ने कम्पनीमा नेपाली तराईबासी र इन्डियन खासगरी यु. पी र बिहारबासिलाई धोति भनिन्थ्यो | अकलेश्वरलाई छुट दिने कुरै भएन, सबैले “ए ! धोति, ओइ धोति” भन्दा भन्दा एकदिन उसलाई रिस उठेछ | संखुवासभाको भण्डारी साथीलाई “के धोति भन्छस् मलाइ, धोति नलाई तँ चोखिदैनस, धोति नलाई तेरो बिहे हुँदैन” भन्यो | “ए धोति मेरो कसरि बिहे हुन्न, कसरि म चोखिन्न?” जंगियो भण्डारी मित्र पनि | अनि बिस्तारै मण्डलले भन्यो “ धोति नलाई तेरो ब्रतबन्ध हुँदैन, ब्रतबन्ध नभई बिहे हुँदैन | अनि तेरो बाबुको किरिया बस्दा पनि तैंले धोति नफेरी चोखिदैनस” | भण्डारी मित्र एक भन्नु न दुई भन्नु हुँदै चुरोट सल्काउन थालें अनि मैले पनि मेरो ब्रतबन्ध भएको सम्झें, लाख नमान्दा नि बुबाले हप्काई हप्काई पहेलो धोति लगाइदिएर लजाउँदै बसेको सम्झें अनि सम्झें हजुरबाको दुखमा बसेका बुबा र काकाहरुलाई | कोहि धोति कोहि कछाड अनि टाउकोमा सेतै रुमाल | मनमनै प्रण गरें हामि आँफैले धोति नलाई नहुने रैछ अनि किन अर्कालाई धोति भन्नु | एउटा कालोले अर्कोलाई काले भनेजस्तो त्यहाँ देखि आजसम्म मैले कसैलाई धोति सम्बोधन गरेको छुँईन |
मेरो एकजना सबैभन्दा मिल्ने र आत्मीय साथि छ मेरै घर छेउको, लगौटी त हामीले लगाएनौ तर भन्दै लाँदा लगौटिया यार भनौं | उसका बुबाहरु खोटांगका राई हुन् चामलिंग | उ जस्तै धेरै परिवार खोटांग छोडेर त्यहाँ बस्दै आएका छन बिगत झन्डै आधा सताब्दी देखि | त्यो साथीलाई तिप्पा, तिम्मा, छेमा, दिकु र पाछा भन्न बाहेक अरु केहि आउदैन चामलिंग भाषामा | पाछा भन्न त आउँछ तर उसको पाछा के हो त्यो पनि शायद थाहा छैन | कतारबाट खोटांगे राईहरुको संगत गरेर फर्केपछि उसलाई वाशिम र वाप्पा भन्न मैले नै सिकाएँ, खान चैं उसले | कहिलेकाही म सोच्छु उसको बारेमा उसलाई कस्तो लाग्दोहोला आफ्नो भाषा नजानेकोमा, राइहरुको बाक्लो बाहुल्यता भएकोले धन्न साकेला चैं नाच्छन है हाम्रो गाउँमा तर मेरो साथि त्यै पनि जान्दैन बरु केहि क्षेत्री बाहुन मित्रहरु वाशिमको बलले नाची टोपल्छन | एकपटक कतारमा म अलि पुरानो र काम जान्ने भएकोले र नेपाली पनि भएकोले नेपालबाट आएका नयाँ कामदार मेरो समुहमा दियो पाँचजना र सुपरभाइजर मद्रासी मामाले यिनीहरुलाई काम सिकाउनु तेरै नेपालका हुन् भन्यो | सिन्धुलीका तामांग रहेछन तर पाँचैजना नेपाली बोल्न नजान्ने मुश्किलले अलि अलि बुझ्ने तर फर्काउन नसक्ने | एकै जात र भाषाका मान्छे एकै ठाउँमा बस्दा सम्म बाहिरि भाषाको प्रभाव धेरै नै कम हुने रहेछ |
राजा पृथ्वी नारायणले गरेको नेपाल एकीकरणको समिक्षा गर्ने बेला होईन यो, त्यतिको औकात पनि छैन मेरो | तर यति भन्न सक्छु एकीकरणपछी आजको यो नेपाल बनाउन यदि कसैको योगदान छ भने त्यो सुरेश सरको छ, अकलेश्वरको छ अनि मेरो साथीको छ | हामीले के गुमायौ र बिशाल नेपालको लागि? ससाना राज्य रजौटा र भाइ भारदारी अनि हदै भए अलिकति बिर्ता गुमायौं होला तर मेरा साथि अकलेश्वरले आफ्नो पहिचान गुमायो, मेरो साथीले आफ्नो संस्कृति र भाषा गुमायो | मेरो साथि उसका संस्कृति, भाषा र पहिचानको चिहान माथि गाडिएको लिंगे पिङ्ग खेल्न हरेक दशैं र तिहारमा म संगै जान्छ | हाम्रो समाजमा देवताले राक्षसमाथि विजय प्राप्त गरेको खुसीमा विजयादशमी मनाउने गरिन्छ र थप्छ, ति राक्षस किराँतहरु थिएँ | यदि साच्चै यस्तै हो भने मेरो साथि आफ्ना पुर्खाको रगतले मुछेको चामल लगाएर म जत्तिकै खुसि हुन्छ | ऊ आफ्नो भाषाको हत्यारो भाषामा म संगै देउसी खेल्छ | यो भन्दा बढी उसले यो देशको लागि के गरोस? तराइबासिहरुले पहाडेलाई बोलाउँदा ससम्मान पहाडी भन्छन, तर हामि आँफैले आँफैलाइ पहाडे भन्छौं | अझ मधेसमा बस्नेलाई मधेसी नभनेर मदिसे भन्छौं | कसैले मदिसे भन्यो भने मलाइ औधि चित्त दुख्छ, मधेसमा जन्मेकोले म पनि मधेसकै हुँ, झन् कालो र गालाभरि दाह्री भएकोले यता खाडीमा धेरैले साच्चै मधेसकै सम्झिन्छन र म आँफुलाई चिनाउदा मैथिली बोलेर मधेसकै बताउछु | कतिले त पत्याउछन | तर मलाइ मदिसे हैन मधेसी भन्नुहोला |
केहि सालहरु देखि जातीय पहिचानको कुरा जोडतोडले उठिराखेको छ | आफ्नो संस्कृति, भाषा र पहिचानको लागि जुनसुकै मूल्य पनि चुकाउन तयार हुनुपर्छ | तपाइँ कल्पना गर्नुस, तपाई एउटा बिरानो शहरमा हुनुहुन्छ अर्कै रंगका मान्छे, अर्कै भाषा बोल्ने, हाउभाउ र शारीरिक बनावट पनि अर्कै भएका र तपाइले आफ्नो बाटो सोध्नु पर्ने छ भने कस्तो होला तपाईलाई? सम्झिदै पनि सकस हुन्छ | शायद यस्तै सकस भयो होला मेरो साथीको कुनै पुर्खालाई नेपालको एकीकरण पछी | पहिचानको लडाइको नाममा अरुलाई निषेध र बन्देज गर्ने कुरा पनि उत्तिकै उठेका छन्, यसैको ज्वलन्त उदाहरण हो “क्षेत्री बाहुन काटिन्छ आलो रगत चाटिन्छ” भनिनु | क्षेत्री काटेर कसैको पहिचान पुनर्स्थापित हुँदैन | यहि नारालाई आधार मानेर जनजातिहरु खासगरी लिम्बुवान र खुम्बुवानहरु धेरै आलोचित हुने गरेका छन् | कुनै मान्छेलाई तपाइले अनुहार देख्दा चिन्नुहुन्छ भने त्यसलाई पछाडिबाट चिन्न नसक्ने पनि हुन सक्छ | मान्छेको शरीर अगाडी र पछाडी भएजस्तै हरेक कुराका दुई पाटा हुन्छन | यो नारालाई अर्को पाटाबाट हेर्ने हो भने कसैलाई मान्छे काट्ने रहर हुँदैन, तर यो हदसम्मको बनाउनमा हाम्रो पनि बिशेष योगदान छ भनेर बुझ्नु जरुरि छ | हुन त यो अतिवादीको कुकृत्य हो तर हामि यस्तै यथास्थितिबादी भईराख्ने हो भने सामान्य जनजातिले पनि यो नारालाई व्यवहारमा उतार्न कोसिस नगर्ला भन्न सकिन्न | मेरो गाउँ आधा आर्य र खसहरु र आधा खुम्बुवानको बसोबास भएको गाउँ हो, कुरा ०६९ सालको मेरो एकजना साथि बिहे गर्न छोटो बिदामा घर गएको थियो संयोगले म पनि बिदामा घरै थिएँ | साथीले राई परम्परा मुताबिक केटि पहिल्यै ल्याईसकेको थिएछ, निम्तो बाड्ने काम पनि सकियो बिहेको दुईदिन अघि उसको बुबा बित्नु भयो | दाहसंस्कारको काम सकिएपछी राइहरुको छलफल शुरु भयो बिहे के गर्ने भन्नेबारे | केहिले भने निम्तो बाडी सकेकोले खास फरक पर्दैन पाँच दिनको काम सकेर बिहे गरिदिने तर केहि बुद्दिजिविले भन्नुभयो यहाँ क्षेत्री बाहुन पनि बस्छन छ दिन अघि मान्छे मरेको घरमा आएर भोज खाइदिदैनन् उनीहरुको नजरमा हामि गिर्छौ बिहे सके अर्को साल नसकेपनि कम्तिमा ४५ दिनपछि मात्रै गर्नुपर्छ | अन्त्यमा बिहे अर्कोसाल गर्ने निर्णय भयो अर्कोसाल भाग्यले म पनि घरैमा भएको बेला उसको धुमधामले बिहे भयो तर दुर्भाग्य म उपस्थित हुन सकिनँ | यति सहिष्णु र बुझ्झकी अनि अर्काको संस्कारलाई आदर गर्नेले मेरो टाउको काट्लान र रगत चाट्लान भनेर म बिश्वास गर्दिन | यस्ता उत्तेजक नारा दिएर समाज भड्काएर आफ्नो दुनो सोझ्याउनेले बेलैमा बुझे हुन्छ |
“बाउले बिहे गर्देनन पोरपनी,
भत्काइदिन्छु सुँगुरको खोरपनी...”
कुनै समय निकै चर्चित प्रकाश ओझाको यो गीत कसले लेखेको मलाइ थाह छैन तर गीतकारलाई म भ्रामक र युवालाई पथभ्रष्ट बनाउने व्यक्तिको रुपमा लिन्छु | आँफु केहि गर्न नसकेर बाउको भरमा, बाउको घरमा बस्नु अनि अझै छोरो बेगारी छ बुडी पाल्न सक्दैन नाति नातिनाको बिजोग हुन्छ भनेर बिहे नगरिदिने बाउलाई खोर भत्काउने धम्कि दिनु नालायकिपन हो | बाउले बिहे गर्दैनन् भने सुँगुरको खोर भत्काउने हैन बरु त्यहि खोरको आडमा खोर भन्दा ठुलो घर बनाउने, एउटा ईलम गर्ने अनि आँफै केटि खोजेर बिहे गर्ने नि | यसो गर्दा बाउको ईज्जत जाँदैन बरु बाउले गर्व गर्छन छोरो लायक भएछ भनेर | त्यस्तै राज्यले भाषा खोस्यो, पहिचान खायो र संस्कृति लुट्यो भनेर नाराबाजी गर्नुभन्दा बरु आफ्नो भाषामा बच्चालाई ताराबाजी गर्न सिकाए भलो हुन्छ | घरमा बाउआमाले आफ्नो भाषामा कुरा मात्रै गर्दा पनि छोराछोरीले धेरै सिक्न सक्छन | एकजना पाँचथरका लिम्बु दाइले भाउजुलाई फोन गर्दा लिम्बु भाषामै कुरा गर्थे दुइचार दिन सुनेपछि मैले “नेसुंगो नेसुंगो” “होपी” “मेम्बी” “चुवा” “फेते” जस्ता धेरै शब्दहरु सजिलै सिकेंभने त्यहि घरमा बस्ने कलिलो बच्चाले अझ धेरै सिक्न सक्छ | केहि अघि लिम्बुवानका साथीहरुले मोरङ जिल्लाका कतिपय उच्च मा. बि हरुलाई चिट्ठी पठाए रे लिम्बुहरुको मातृभाषामा पठनपाठन गराईदिनका लागि | माग पुरा नभए नेपाली भाषामा पढाइ हुने बिध्यालयहरु भत्काईदिने धम्कि सहित | माथि उल्लेखित गीतजस्तै कुरा | लिम्बु मित्रहरुले बाहुनहरुको बिद्यालय भत्काए भने झन् नया बनाउछन उनीहरुको हातमा संयन्त्र छ, लिम्बुहरुलाई केहि फाईदा हुँदैन | एकजना मेरो गाउँका राईदाइ युके आर्मी छन् | पहिलो बिदामा आउँदा पाँच जना चढ्न मिल्ने बाईक किने अगाडी उ आँफै पछाडी तिनचारजना क्षेत्री बाहुन साथिहरु सधैं भट्टी जाने मातेर आउने | उनको बिदा सकिन लाग्दा एकदिन सोधें, “दाइ केटाहरुलाई खुब खुवाउनु भो कति जति सकियो होला?” उनले भने बाइकलाई पेट्रोल र मान्छेलाई झोल गरेर दुइलाख माथि सकियो भाइ दुईमहिनामा | पछी तिनै दाइलाई फर्किने बेलामा खर्चको अभाव भएछ, घरमा माग्न मुख नलागेर घडी बेच्ने भएछन, निकै महँगो थियो रे घडी | उनीसंगै सत्तरी दिन उनकै पैसाले रक्सि खाने क्षेत्री साथीले एक तिहाइ दाम दिएर घडी किनेछ | त्यत्रो दिन उसैको खाएर पनि जानेबेलामा सापटी दिनु त कता कता उसैको घडी किन्ने ? अब आउँदा राईदाइ यो सँग पक्कै बोल्दैनन भनेको त् अर्कोपल्ट झन् धेरै खुवाए | पैसा भएर पनि यस्तो कुरामा बाठो नहुनुले पनि जनजातिमाथि क्षेत्री बाहुन हावी भएका हुन भन्ने मलाइ लाग्छ | ति राईदाइले रक्सीमा खर्च गर्नु सट्टा राई भाषाका किताब किनेर वा स्कुल खोलिदिएर भाषा र संस्कृतिको लागि खर्च गरेका भए सैयौ राईहरुले उनलाई कहिल्यै बिर्सन्नथिए | अन्त्यमा हरेक कुरामा बाउको मुख ताकेर मात्रै पनि हुन्न, अब सुँगुरको खोर भत्काउने धम्कि पनि नदिउँ बरु छेउमा अर्को खोर बनाएर आँफुपनि व्यवहारिक बनौं | आफ्नो लागि जति सकिन्छ आँफै गर्ने प्रयास गरौँ | थालौं आफ्नो भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्न |
भोलि हैन भरैबाट थालौं,
बाहिर हैन घरैबाट थालौं,
शुरुवात सानैदेखि राम्रो,
टुप्पो हैन जरैबाट थालौं....
धन्यबाद !!
Subscribe to:
Posts (Atom)