Wednesday, October 1, 2014

जातीय पहिचानका कुरा

श्री सौंठा उच्च मा. बि मा म ६ कि ७ मा पढ्दाको कुरा, हामिलाई बिज्ञान पढाउन नयाँ सर आउनु भयो, उहाको नाम थियो शुरेश बिश्वास | कस्तो नबुझिने कुराहरु भन्दै हामिलाई पढाउनु भयो हामीमध्ये कति त के भनेको नबुझेर अलमल पर्यौ | नेपाली त नेपाली नै बोल्नुहुन्थ्यो तर अर्कै लवजमा | पढाउदै जाँदा “चिन लगाउ” भन्नु भयो नबुझेर ट्वा पर्यौ हामि | “हामीले भन्यो चिन लगाउ, किन मानिलिदैन” भन्दै कड्किन थाल्नुभयो | हैरान भएर “मार्क करिलिनु” भनेपछि थाहा भयो चिन्ह लगाउ भन्नु भएको रहेछ | बिस्तारै बातावरण सहज भयो | त्यस्तै म कतारमा हुँदा हाम्रो एकजना साथि थियो अकलेश्वर मण्डल, जनकपुरको | हामि गाउँमा हुँदा मधेसको मान्छेलाई “भेले” र भैया भन्थ्यौ | धेरैजसो मधेसीहरुले व्यापारिक र हिडडुल गर्न प्रयोग गर्ने भएकोले ठुलो हिरो जेट साईकलको नामै भैया साइकल थियो | पछी कतार पसेपछि थाह भयो धोति पनि भन्दा रहेछन हामीले काम गर्ने कम्पनीमा नेपाली तराईबासी र इन्डियन खासगरी यु. पी र बिहारबासिलाई धोति भनिन्थ्यो | अकलेश्वरलाई छुट दिने कुरै भएन, सबैले “ए ! धोति, ओइ धोति” भन्दा भन्दा एकदिन उसलाई रिस उठेछ | संखुवासभाको भण्डारी साथीलाई “के धोति भन्छस् मलाइ, धोति नलाई तँ चोखिदैनस, धोति नलाई तेरो बिहे हुँदैन” भन्यो | “ए धोति मेरो कसरि बिहे हुन्न, कसरि म चोखिन्न?” जंगियो भण्डारी मित्र पनि | अनि बिस्तारै मण्डलले भन्यो “ धोति नलाई तेरो ब्रतबन्ध हुँदैन, ब्रतबन्ध नभई बिहे हुँदैन | अनि तेरो बाबुको किरिया बस्दा पनि तैंले धोति नफेरी चोखिदैनस” | भण्डारी मित्र एक भन्नु न दुई भन्नु हुँदै चुरोट सल्काउन थालें अनि मैले पनि मेरो ब्रतबन्ध भएको सम्झें, लाख नमान्दा नि बुबाले हप्काई हप्काई पहेलो धोति लगाइदिएर लजाउँदै बसेको सम्झें अनि सम्झें हजुरबाको दुखमा बसेका बुबा र काकाहरुलाई | कोहि धोति कोहि कछाड अनि टाउकोमा सेतै रुमाल | मनमनै प्रण गरें हामि आँफैले धोति नलाई नहुने रैछ अनि किन अर्कालाई धोति भन्नु | एउटा कालोले अर्कोलाई काले भनेजस्तो त्यहाँ देखि आजसम्म मैले कसैलाई धोति सम्बोधन गरेको छुँईन |

मेरो एकजना सबैभन्दा मिल्ने र आत्मीय साथि छ मेरै घर छेउको, लगौटी त हामीले लगाएनौ तर भन्दै लाँदा लगौटिया यार भनौं | उसका बुबाहरु खोटांगका राई हुन् चामलिंग | उ जस्तै धेरै परिवार खोटांग छोडेर त्यहाँ बस्दै आएका छन बिगत झन्डै आधा सताब्दी देखि | त्यो साथीलाई तिप्पा, तिम्मा, छेमा, दिकु र पाछा भन्न बाहेक अरु केहि आउदैन चामलिंग भाषामा | पाछा भन्न त आउँछ तर उसको पाछा के हो त्यो पनि शायद थाहा छैन | कतारबाट खोटांगे राईहरुको संगत गरेर फर्केपछि उसलाई वाशिम र वाप्पा भन्न मैले नै सिकाएँ, खान चैं उसले | कहिलेकाही म सोच्छु उसको बारेमा उसलाई कस्तो लाग्दोहोला आफ्नो भाषा नजानेकोमा, राइहरुको बाक्लो बाहुल्यता भएकोले धन्न साकेला चैं नाच्छन है हाम्रो गाउँमा तर मेरो साथि त्यै पनि जान्दैन बरु केहि क्षेत्री बाहुन मित्रहरु वाशिमको बलले नाची टोपल्छन | एकपटक कतारमा म अलि पुरानो र काम जान्ने भएकोले र नेपाली पनि भएकोले नेपालबाट आएका नयाँ कामदार मेरो समुहमा दियो पाँचजना र सुपरभाइजर मद्रासी मामाले यिनीहरुलाई काम सिकाउनु तेरै नेपालका हुन् भन्यो | सिन्धुलीका तामांग रहेछन तर पाँचैजना नेपाली बोल्न नजान्ने मुश्किलले अलि अलि बुझ्ने तर फर्काउन नसक्ने | एकै जात र भाषाका मान्छे एकै ठाउँमा बस्दा सम्म बाहिरि भाषाको प्रभाव धेरै नै कम हुने रहेछ |

राजा पृथ्वी नारायणले गरेको नेपाल एकीकरणको समिक्षा गर्ने बेला होईन यो, त्यतिको औकात पनि छैन मेरो | तर यति भन्न सक्छु एकीकरणपछी आजको यो नेपाल बनाउन यदि कसैको योगदान छ भने त्यो सुरेश सरको छ, अकलेश्वरको छ अनि मेरो साथीको छ | हामीले के गुमायौ र बिशाल नेपालको लागि? ससाना राज्य रजौटा र भाइ भारदारी अनि हदै भए अलिकति बिर्ता गुमायौं होला तर मेरा साथि अकलेश्वरले आफ्नो पहिचान गुमायो, मेरो साथीले आफ्नो संस्कृति र भाषा गुमायो | मेरो साथि उसका संस्कृति, भाषा र पहिचानको चिहान माथि गाडिएको लिंगे पिङ्ग खेल्न हरेक दशैं र तिहारमा म संगै जान्छ | हाम्रो समाजमा देवताले राक्षसमाथि विजय प्राप्त गरेको खुसीमा विजयादशमी मनाउने गरिन्छ र थप्छ, ति राक्षस किराँतहरु थिएँ | यदि साच्चै यस्तै हो भने मेरो साथि आफ्ना पुर्खाको रगतले मुछेको चामल लगाएर म जत्तिकै खुसि हुन्छ | ऊ आफ्नो भाषाको हत्यारो भाषामा म संगै देउसी खेल्छ | यो भन्दा बढी उसले यो देशको लागि के गरोस? तराइबासिहरुले पहाडेलाई बोलाउँदा ससम्मान पहाडी भन्छन, तर हामि आँफैले आँफैलाइ पहाडे भन्छौं | अझ मधेसमा बस्नेलाई मधेसी नभनेर मदिसे भन्छौं | कसैले मदिसे भन्यो भने मलाइ औधि चित्त दुख्छ, मधेसमा जन्मेकोले म पनि मधेसकै हुँ, झन् कालो र गालाभरि दाह्री भएकोले यता खाडीमा धेरैले साच्चै मधेसकै सम्झिन्छन र म आँफुलाई चिनाउदा मैथिली बोलेर मधेसकै बताउछु | कतिले त पत्याउछन | तर मलाइ मदिसे हैन मधेसी भन्नुहोला |

केहि सालहरु देखि जातीय पहिचानको कुरा जोडतोडले उठिराखेको छ | आफ्नो संस्कृति, भाषा र पहिचानको लागि जुनसुकै मूल्य पनि चुकाउन तयार हुनुपर्छ | तपाइँ कल्पना गर्नुस, तपाई एउटा बिरानो शहरमा हुनुहुन्छ अर्कै रंगका मान्छे, अर्कै भाषा बोल्ने, हाउभाउ र शारीरिक बनावट पनि अर्कै भएका र तपाइले आफ्नो बाटो सोध्नु पर्ने छ भने कस्तो होला तपाईलाई? सम्झिदै पनि सकस हुन्छ |  शायद यस्तै सकस भयो होला मेरो साथीको कुनै पुर्खालाई नेपालको एकीकरण पछी | पहिचानको लडाइको नाममा अरुलाई निषेध र बन्देज गर्ने कुरा पनि उत्तिकै उठेका छन्, यसैको ज्वलन्त उदाहरण हो “क्षेत्री बाहुन काटिन्छ आलो रगत चाटिन्छ” भनिनु | क्षेत्री काटेर कसैको पहिचान पुनर्स्थापित हुँदैन | यहि नारालाई आधार मानेर जनजातिहरु खासगरी लिम्बुवान र खुम्बुवानहरु धेरै आलोचित हुने गरेका छन् | कुनै मान्छेलाई तपाइले अनुहार देख्दा चिन्नुहुन्छ भने त्यसलाई पछाडिबाट चिन्न नसक्ने पनि हुन सक्छ | मान्छेको शरीर अगाडी र पछाडी भएजस्तै हरेक कुराका दुई पाटा हुन्छन | यो नारालाई अर्को पाटाबाट हेर्ने हो भने कसैलाई मान्छे काट्ने रहर हुँदैन, तर यो हदसम्मको बनाउनमा हाम्रो पनि बिशेष योगदान छ भनेर बुझ्नु जरुरि छ | हुन त यो अतिवादीको कुकृत्य हो तर हामि यस्तै यथास्थितिबादी भईराख्ने हो भने सामान्य जनजातिले पनि यो नारालाई व्यवहारमा उतार्न कोसिस नगर्ला भन्न सकिन्न | मेरो गाउँ आधा आर्य र खसहरु र आधा खुम्बुवानको बसोबास भएको गाउँ हो, कुरा ०६९ सालको मेरो एकजना साथि बिहे गर्न छोटो बिदामा घर गएको थियो संयोगले म पनि बिदामा घरै थिएँ | साथीले राई परम्परा मुताबिक केटि पहिल्यै ल्याईसकेको थिएछ, निम्तो बाड्ने काम पनि सकियो बिहेको दुईदिन अघि उसको बुबा बित्नु भयो | दाहसंस्कारको काम सकिएपछी राइहरुको छलफल शुरु भयो बिहे के गर्ने भन्नेबारे | केहिले भने निम्तो बाडी सकेकोले खास फरक पर्दैन पाँच दिनको काम सकेर बिहे गरिदिने तर केहि बुद्दिजिविले भन्नुभयो यहाँ क्षेत्री बाहुन पनि बस्छन छ दिन अघि मान्छे मरेको घरमा आएर भोज खाइदिदैनन् उनीहरुको नजरमा हामि गिर्छौ बिहे सके अर्को साल नसकेपनि कम्तिमा ४५ दिनपछि मात्रै गर्नुपर्छ | अन्त्यमा बिहे अर्कोसाल गर्ने निर्णय भयो अर्कोसाल भाग्यले म पनि घरैमा भएको बेला उसको धुमधामले बिहे भयो तर दुर्भाग्य म उपस्थित हुन सकिनँ | यति सहिष्णु र बुझ्झकी अनि अर्काको संस्कारलाई आदर गर्नेले मेरो टाउको काट्लान र रगत चाट्लान भनेर म बिश्वास गर्दिन | यस्ता उत्तेजक नारा दिएर समाज भड्काएर आफ्नो दुनो सोझ्याउनेले बेलैमा बुझे हुन्छ |

“बाउले बिहे गर्देनन पोरपनी,
भत्काइदिन्छु सुँगुरको खोरपनी...”
कुनै समय निकै चर्चित प्रकाश ओझाको यो गीत कसले लेखेको मलाइ थाह छैन तर गीतकारलाई म भ्रामक र युवालाई पथभ्रष्ट बनाउने व्यक्तिको रुपमा लिन्छु | आँफु केहि गर्न नसकेर बाउको भरमा, बाउको घरमा बस्नु अनि अझै छोरो बेगारी छ बुडी पाल्न सक्दैन नाति नातिनाको बिजोग हुन्छ भनेर बिहे नगरिदिने बाउलाई खोर भत्काउने धम्कि दिनु नालायकिपन हो | बाउले बिहे गर्दैनन् भने सुँगुरको खोर भत्काउने हैन बरु त्यहि खोरको आडमा खोर भन्दा ठुलो घर बनाउने, एउटा ईलम गर्ने अनि आँफै केटि खोजेर बिहे गर्ने नि | यसो गर्दा बाउको ईज्जत जाँदैन बरु बाउले गर्व गर्छन छोरो लायक भएछ भनेर | त्यस्तै राज्यले भाषा खोस्यो, पहिचान खायो र संस्कृति लुट्यो भनेर नाराबाजी गर्नुभन्दा बरु आफ्नो भाषामा बच्चालाई ताराबाजी गर्न सिकाए भलो हुन्छ | घरमा बाउआमाले आफ्नो भाषामा कुरा मात्रै गर्दा पनि छोराछोरीले धेरै सिक्न सक्छन | एकजना पाँचथरका लिम्बु दाइले भाउजुलाई फोन गर्दा लिम्बु भाषामै कुरा गर्थे दुइचार दिन सुनेपछि मैले “नेसुंगो नेसुंगो” “होपी” “मेम्बी” “चुवा” “फेते” जस्ता धेरै शब्दहरु सजिलै सिकेंभने त्यहि घरमा बस्ने कलिलो बच्चाले अझ धेरै सिक्न सक्छ | केहि अघि लिम्बुवानका साथीहरुले मोरङ जिल्लाका कतिपय उच्च मा. बि हरुलाई चिट्ठी पठाए रे लिम्बुहरुको मातृभाषामा पठनपाठन गराईदिनका लागि | माग पुरा नभए नेपाली भाषामा पढाइ हुने बिध्यालयहरु भत्काईदिने धम्कि सहित | माथि उल्लेखित गीतजस्तै कुरा | लिम्बु मित्रहरुले बाहुनहरुको बिद्यालय भत्काए भने झन् नया बनाउछन उनीहरुको हातमा संयन्त्र छ, लिम्बुहरुलाई केहि फाईदा हुँदैन | एकजना मेरो गाउँका राईदाइ युके आर्मी छन् | पहिलो बिदामा आउँदा पाँच जना चढ्न मिल्ने बाईक किने अगाडी उ आँफै पछाडी तिनचारजना क्षेत्री बाहुन साथिहरु सधैं भट्टी जाने मातेर आउने | उनको बिदा सकिन लाग्दा एकदिन सोधें, “दाइ केटाहरुलाई खुब खुवाउनु भो कति जति सकियो होला?” उनले भने बाइकलाई पेट्रोल र मान्छेलाई झोल गरेर दुइलाख माथि सकियो भाइ दुईमहिनामा | पछी तिनै दाइलाई फर्किने बेलामा खर्चको अभाव भएछ, घरमा माग्न मुख नलागेर घडी बेच्ने भएछन, निकै महँगो थियो रे घडी | उनीसंगै सत्तरी दिन उनकै पैसाले रक्सि खाने क्षेत्री साथीले एक तिहाइ दाम दिएर घडी किनेछ | त्यत्रो दिन उसैको खाएर पनि जानेबेलामा सापटी दिनु त कता कता उसैको घडी किन्ने ? अब आउँदा राईदाइ यो सँग पक्कै बोल्दैनन भनेको त् अर्कोपल्ट झन् धेरै खुवाए | पैसा भएर पनि यस्तो कुरामा बाठो नहुनुले पनि जनजातिमाथि क्षेत्री बाहुन हावी भएका हुन भन्ने मलाइ लाग्छ | ति राईदाइले रक्सीमा खर्च गर्नु सट्टा राई भाषाका किताब किनेर वा स्कुल खोलिदिएर भाषा र संस्कृतिको लागि खर्च गरेका भए सैयौ राईहरुले उनलाई कहिल्यै बिर्सन्नथिए | अन्त्यमा हरेक कुरामा बाउको मुख ताकेर मात्रै पनि हुन्न, अब सुँगुरको खोर भत्काउने धम्कि पनि नदिउँ बरु छेउमा अर्को खोर बनाएर आँफुपनि व्यवहारिक बनौं | आफ्नो लागि जति सकिन्छ आँफै गर्ने प्रयास गरौँ | थालौं आफ्नो भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्न |
भोलि हैन भरैबाट थालौं,
बाहिर हैन घरैबाट थालौं,
शुरुवात सानैदेखि राम्रो,
टुप्पो हैन जरैबाट थालौं....

धन्यबाद !!

No comments:

Post a Comment